भूकम्प पिडितको घाउमा नेपाली कांग्रेसको नून चुक






      पुननिर्माण प्राधिकरण नबनेका कारण लाखौं भूकम्पपीडितहरुले घर बनाउने ऋणसमेत पाउन सकेका छैनन् । कठांग्रिदो जाडोमा त्रिपाल र जस्ताको टहरोमा बस्न पीडितहरु बाध्य छन् । तर, यहीबेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने भूकम्पपीडितको पीडामाथि राजनीति सुरु गरेको छ । कांग्रेस नेताहरुको जिद्दीका कारण शुक्रबार पनि पुनर्निर्माण विधेयक संसदमा पेश हुन सकेन । नेपाली कांग्रेसकै सांसदहरुसमेत पार्टीको यो कदमप्रति अन्तुष्ट छैनन् र भूकम्प पीडितमाथि राजनीति गरिनु अमानवीय कार्य भएको भनिरहेका छन् । लगातार संसद बैठक अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले बिहीबार कांग्रेससहितको बैठकमा प्राधिकरण विधेयक पास गर्न दिने बताएको थियो । तर, कांग्रेस सहमतिमा सिंहदरबारबाट बानेश्वर पुग्दासम्म टिक्न सकेन र सदन अवरुद्ध पारे । शुक्रबार सदन सुचारु गर्ने र प्राधिकरण विधेयक पास गर्नेबारे विभिन्न चरणमा छलफल भएको थियो । तर, कांग्रेसले हठ छाडेन ।

 सिंहदरबारमा भएको मधेसी मोर्चासहितको बैठकमा अनुपस्थित भएको उसले बानेश्वर वार्तामा भने पुरानै अडान दोहोर्‍याएको छ । स्रोतका अनुसार शुक्रबार बसेको पदाधिकारीसहितको बैठकमा बाझाबाझ नै भएको थियो बिहीबार सिंहदरबारमा सहमति गर्ने नेताहरुले गोली नै खाए र विमलेन्द्र निधीसहितका नेताले पार्टी सभापति सुशील कोइरालालाई सिंहदरवार वार्तामा जान रोके । प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गर्दासमेत कोइराला त्रिपक्षीय वार्तामा सहभागी भएनन् । सत्तापक्ष र मधेसी मोर्चाको वार्ता भयो र मोर्चाले प्राधिकरण विधेयक मात्र पास हुन दिने बतायो । प्राधिकरणसँगै संविधान संशोधन विधेयक ल्याएमा भने सदन चल्न नदिने मोर्चाका नेताहरुले बताए । लगत्तै संसद भवन बानेश्वरमा कांग्रेससँग एमाले र एमामाओवादीले कांग्रेससँग वार्ता गरेको थियो भने कांग्रेसले मधेसी मोर्चाका नेताहरुसँग छुट्टै छलफल गरेको छ । तर, कांग्रेस र मधेसी मोर्चा दुबै आ-आफ्नो अडानमा रहे । कांग्रेसले मधेसी मोर्चालाई आइतबारसम्म सहमत गराउने भन्दै समय मागेपछि शुक्रबारको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अर्को बैठक आइतबार बस्नेछ । स्रोतका अनुसार कांग्रेसको मागअनुसार मधेसी मोर्चा सहमति हुने सम्भावना निकै कम छ । उसले आफ्नो ११ बुँदे मागबारे प्याकेजमा सहमति हुनुपर्ने बताएको छ । तर, कांग्रेस वार्तामा नै नआएपछि यसबारे प्रमुख तीन दलबीच कुनै सहमति हुन सकेन । सत्तारुढ दलका नेताहरु भने कांग्रेसले गैरराजनीतिक र अमानवीय काम गरेको बताउँछन् । ‘हामीले गरेको भए के-के भनिसक्थ्यो होला’ सत्तारुढ दलका एक शीर्ष नेताले अनलाइनखबरलाई भने-‘एकअर्कासँग सन्दर्भ नै भएका विषयलाई एकसाथ ल्याउनुपर्छ भन्ने नाममा कांग्रेस भूकम्प पीडितलाईं पीडामाथि पीडा थप्ने काम गरेको छ ।’ स्वयंम कांग्रेसमा पनि पार्टी नेतृत्वको भूमिकाप्रति ससन्तुष्टि छ । एक सांसदले भने-‘पार्टीले गलत अडान लिएको छ ।
 हाम्रो सहमतिविना संविधान संशोधन हुन सक्दैन । त्यसैले पुननिर्माण विधेयकलाई रोक्नु हाम्रो पार्टीको समेत हितमा छैन ।’ तर, पार्टी नेतृत्वले समयमै निर्णय गर्न नसक्नु र केही नेताका कारण यो रोकिएको उनीहरु नै बताउँछन । खासगरी कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरुले संविधान संशोधन विधेयक तत्काल संसदमा ल्याउनुपर्ने माग गर्दै आएका छन् । तर, तराई मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चाले भने यो अस्वीकार भनिसकेको छ ।
Share on Google Plus

About santa

0 comments:

Post a Comment