शक्तिले ‘शक्ति दुरुपयोग’ गर्दा पेरिसडाँडामा हंगामा
काठमाण्डु, २५ मंसिर– एकीकृत माओवादीको शुक्रबारको केन्द्रीय समिति बैठकमा पार्टी नेता एवं गृहमन्त्री शक्ति बस्नेतको चर्को आलोचना भएको छ । बैठकमा केन्द्रीय सदस्य राजकाजी गुरुङले गृहमन्त्री बस्नेतले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । आफ्ना छोरी, नातागोता र नजिकका पार्टी कार्यकर्तालाई छानीछानी चीन भ्रमणमा पठाएको भन्दै गुरुङ मन्त्री बस्नेतविरुद्ध कड्किए । ‘सत्तामा कम्युनिष्ट प्रभावलाई सकारात्मक उपयोग गर्नुपर्नेमा सत्ताको दुरुपयोग भएको छ’, गुरुङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘शक्तिको अशोभनीय दुरुपयोग रोकिएन भने यो सरकार धेरै दिन चल्दैन ।’ गुरुङले बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नातिनीहरुलाई चीन पठाएर मन्त्रीले चाकडी गरेको आरोप लगाए । यद्यपि उक्त प्रकरणमा अध्यक्ष प्रचण्डलाई मुछेर बदनामी गर्न नमिल्ने तर्क गरे । नारायणकाजी सरकार खोज्दै सडकमा ! बैठकमा गुरुङले पार्टी उपाध्यक्ष एवं सरकार सञ्चालनका लागि गठित संयन्त्र प्रमुख नारायण्काजी श्रेष्ठको समेत आलोचना गरे । सरकार सञ्चालनको विधि र नीति बनाउन र त्यसलाई कार्यान्वयन गराउन छाडेर श्रेष्ठ सरकार खोज्दै बानेश्वरको सडकमा हिंड्ने गरेको भन्दै व्यंग्य गरे । ‘सरकारको प्रभावकारी सञ्चालन गर्ने जिम्मेवारी पाएका व्यक्तिलाई सरकार खोज्दै बानेश्वरको सडकतिर हिंड्न थालेपछि सरकारले कसरी काम गर्छ ?’, उनको प्रश्न थियो ।

0 comments:
Post a Comment