चलचित्र परदेशी राम्रो भएकाले सफल भयो

प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का अभिनीत चलचित्र परदेशीले २ करोडभन्दा माथिको व्यापार गरिसकेको छ । चलचित्र परदेशी सफल भएपछि उत्साहित निर्माता राजेश वंशलले मुलुकको विषम परिस्थितिमा पनि दर्शकले राम्रो चलचित्रलाई माया गरेको बताए । परदेशीले सफल व्यापार गर्छ भन्नेमा विश्वस्त हुनुहुन्थ्यो ? अप्ठ्यारो समय भएकाले सुरुवातमा डर लागेको थियो, तर एक वर्ष कुरेर पाएको मिति सार्न पनि मन थिएन । अहिले नै प्रदर्शन गर्ने हाम्रो निर्णय सही ठहरियो । राम्रो चलचित्रले विषम परिस्थितिमा पनि माया पाउँदो रहेछ । यो सुखद प्रतिफलले चलचित्र क्षेत्रमा निरन्तरता दिन उत्साहित बनाएको छ । नाम र कथाका कारणले पनि रुचाइएको हो कि ? चलचित्रको नाम र कथा टिपिकलभन्दा पनि हाम्रो समाजको दुरुस्तै प्रतिविम्ब भएकाले यसलाई दर्शकले आफ्नो चलचित्रका रूपमा लिइदिनुभयो । यसपटक बुटवलमा फूलपातीको दिन नेपाली सेनाको एउटा टिम नै आएर बिहान ८ बजेको सो हेर्नुभयो । पूर्वदेखि पश्चिमसम्म यो लहर चल्यो । त्यसपछि कठिन यात्रा तय गरेर पनि दर्शकहरू हलसम्म आइपुग्नुभयो । हाम्रो आफ्नो कथामा बन्ने चलचित्र दर्शकले रुचाउँछन् भन्ने कुरा परदेशीले पुष्टि गरेको छ । प्रशान्त तामाङको स्टार भ्यालुले पनि काम गरेको हो कि ? समग्र नेपाली जनताले माया गरेका व्यक्ति हुन्– प्रशान्त तामाङ । उनको स्टारडम नेपालमा अझै चल्छ भन्ने प्रस्ट भएको छ । परदेशीमा उनले गरेको कामले पनि उत्तिकै प्रशंसा पाएको छ । प्रशान्तबाहेक निर्देशक नारायण रायमाझी तथा अन्य कलाकारको काम पनि उत्तिकै सशक्त थियो । चलचित्र निर्माणमा हामीले पनि कुनै कमी महसुस हुन दिएनौं । त्यसको प्रतिफल अहिले पाइएको छ । हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्नु नपरेकाले पनि सफल भएको हो ? नेपालका ठूला ब्यानर र लोकप्रिय कलाकारले अभिनय गरेका चारबटा नेपाली चलचित्र प्रतिस्पर्धामा थिए । हिन्दी चलचित्र भएको भए पनि परदेशीले आफ्नो सफल व्यापार कायमै राख्थ्यो । परदेशी सुपरहिट हुनु भनेको नेपाली चलचित्र उद्योगका निम्ति माइलस्टोन हो ।
निर्माता राजेश वंशल


Share on Google Plus

About Unknown

0 comments:

Post a Comment