भूकम्पपछिको पुननिर्माणका लागि जर्मन सरकारको साढे तीन अर्ब सहयोग
काठमाडौं, मंसिर २८ - जर्मन सरकार भूकम्पपछिको पुननिर्माणका लागि ‘पुनःनिर्माण ऋण निगम’ मार्फत ३ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ अनुदान सहयोग गर्न सहमत भएको छ ।
‘नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा जर्मन सरकारले प्रतिबद्धता गरेअनुसार सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव लोकदर्शन रेग्मी र नेपालका लागि जर्मनीका राजदूत माथियास मायारले हस्ताक्षर गर्नुभयो । अनुदान सहयोगमध्ये २ अर्ब ८९ करोड रुपैयाँ वित्तीय सहयोग र ५७ करोड ९३ लाख रुपैयाँ प्राविधिक सहयोग रहेको छ ।
सम्झौता हस्ताक्षरपछि सचिव रेग्मीले नेपालको आर्थिक सामाजिक विकासमा जर्मनी सरकारले गरेको सहयोगको प्रशंसा गर्दै भूकम्पपछि क्षतिग्रस्त भक्तपुरका पुरातात्विक महत्वका पूर्वाधार र विद्यालयको पुनस्थापनाका सहयोग रकम खर्च गरिने जानकारी गराउनुभयो । सरकार भूकम्पपछिको पुननिर्माणका लागि ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ गठन गर्न गम्भीर रहेको बताउँदै उहाँले एक साताभित्र प्राधिकरण गठन हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत मायारले सन् २०१६ देखि सात वर्षसम्म रहने सहयोग योजनाअन्तर्गत भूकम्प प्रभावित गोरखा, रसुवा, दोलखा र रामेछाप जिल्लाका अस्पतालको पुननिर्माण र रसुवाको ग्रामीण विद्युतीकरण लगायत विभिन्न पुनस्थापनाका कार्य गरिने बताउनुभयो । रासस

0 comments:
Post a Comment