यस्तो छ मोदीले मधेसी नेतासँग भेट्न नमान्नुको दुई कारण

काठमाण्डु, २४ मंसिर– दिल्ली भ्रमणमा गएका मधेसी मोर्चाका शीर्ष नेताले बारम्बार आग्रह गर्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटका लागि समय दिएन मोदीले भेट्न अस्वीकार गरेपछि मधेसी नेता निराश भएर बुधबार राति स्वदेश फर्किए । उनीहरुले भारत बसाइका क्रममा विदेशमन्त्री सुषमा स्वराज, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस जयशंकरसहित केही नेता भेटे । ती भेटमा भारतीय पक्षले नाकामा जारी धर्ना रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्न र राजनीतिक संवादबाटै समस्याको निकास खोज्न स्पष्ट सन्देश दियो । नेपालमा नाकाबन्दी लगाउन प्रमुख जिम्मेवार रहेकामा नेपाल र भारत दुवैतिर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री मोदीले मधेसी नेतालाई भेट नदिनुको दुई कारण यस्ता छन् । कारण–१ नेपालको सरकार, अधिकांश राजनीतिक दल, सञ्चार माध्यम र आमनागरिकको बुझाइमा नेपालमा भारतले नाकाबन्दी गरिरहेको छ । नेपालमा मात्र होइान भारतमा समेत मोदी सरकारले नेपालमाथि नाकाबन्दी लगाएको भन्नेहरु धेरै छन् । भारतको लोकसभामा केही दिनअघि विपक्षी र केही सत्तारुढ भाजपाका सांसदले समेत किटेरै मोदी सरकारले नेपालमा नाकाबन्दी गरेको बताए । तर प्रधानमन्त्री मोदीसहित सरकारी अधिकारी त्यो मान्न तयार छैनन् । उनीहरु मधेसी मोर्चाले सीमा क्षेत्रमा गरेको धर्नाका कारण मालसामान ढुवानी प्रभावित भएको तर नेपालमा नाकाबन्दी नरेहको दाबी गर्छन् । नेपालमा आफ्नो लोकप्रियता एकपछि अर्को गर्दै ओरालो लागेको र भारतमा समेत तीव्र विरोध भइरहेका बेला मधेसी मोर्चाका नेतालाई भेट्दा मधेस आन्दोलन भारतमै इशारामा चलेको सन्देश प्रवाह हुने ठानेर मोदीले भेट्न अस्वीकार गरेका हुन् । कारण– २ मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम, तमलोपा, सदभावना र तराई मधेस सदभावनाका नेता दिल्ली गएका थिए । मोदीको बुझाइमा ती मधेसका क्षेत्रीय दल हुन र तिनले नेपालको मुलधारको राजनीतिक प्रतिनिधित्व गर्दैनन् । ती दलमा पटकपटक मन्त्री भएका नेता छन् तर त्यो भन्दा माथिल्लो जिम्मेवारीमा रहेर सत्ताको अनुभव गरेका कोही छैनन् । बहालवाला प्रधानमन्त्रीले छिमेकी देशका पूर्वमन्त्रीहरुलाई औपचारिक भेट दिँदा कुटनीतिक रुपमा राम्रो सन्देश नजाने भएका कारण मोदीले उनीहरुलाई भेटेनन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment