काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका व्यक्तिलाई पठाएको पत्रमाथि प्रमुख तीन दलका शीर्ष नेताले अख्तियारकै आयुक्तसँग सोधपुछ थालेका छन्।
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आयुक्तसँग सोधपुछ गरेर पत्र पठाउने विधि, प्रक्रिया र पत्र पठाउनुको कारणबारे बुझ्न थालेका हुन्।एमाओवादी अध्यक्ष दाहालले मंगलबारको केन्द्रीय समिति बैठकमा यसबारे जानकारी दिएका थिए।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीबाहेक अन्य आयुक्तले पत्र पठाउनेबारे आफूहरूलाई कुनै पूर्वसूचना नरहेको जानकारी नेताहरूलाई गराएका छन्। आयुक्तहरू नै अनभिज्ञ रहेको अवस्थामा अख्तियारबाट पत्र आएपछि नेताहरूले यसलाई 'असामान्य पत्र' का रूपमा ग्रहण गरेका छन्।
एमाओवादी अध्यक्ष दाहालका अनुसार अख्तियारले पठाएको पत्रका बारेमा कांग्रेस र एमालेका नेतासँग पनि छलफल भइरहेको छ। 'प्रहरीदेखि राजनीतिक दलका नेताहरूजस्तो संवेदनशील अंगमा जुन समयमा पत्र पठाइएको छ, यो सामान्य होइन', दाहालले मंगलबार पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकमा भने, 'यो पत्र अख्तियारभित्रको बोर्डमा छलफल र निर्णय गराएर आएको छैन। आयुक्तहरूलाई यो पत्रका बारेमा थाहा दिइएको पनि छैन। सामान्य बेलाको जस्तो प्रक्रिया देखिएको पनि छैन।'
बहालवाला सांसदहरूलाई पनि पत्र बुझाइएको हुनाले कसरी अगाडि बढ्ने भन्नेमा छलफल गरिरहेको पनि दाहालले बताएका थिए ।
एमाओवादीका एक नेताका अनुसार अख्तियारका अधिकारीलाई सम्बन्धित पार्टीका संसदीय दल वा संसदीय समितिमा बोलाएर पत्रका बारेमा जानकारी लिनेदिने पनि हुनसक्ने गरी कांग्रेस र एमालेका नेतासँग छलफल भइरहेको छ।
एमाओवादी केन्द्रीय सदस्य विषमलाल दनुवारले बैठकमा पार्टीका महासचिव कृष्णबहादुर महरासहित कांग्रेस-एमालेका नेता र सुरक्षा अंगका अधिकारीलाई अख्तियारले बुझाएको पत्रका बारेमा स्पष्टीकरण मागिएपछि दाहालले त्यसबारे जानकारी गराएका हुन्।
'पार्टीका महासचिवलाई अख्तियारबाट पत्र आएको छ। फेसबुकतिर अध्यक्षलाई पनि पत्र आउने चर्चा छ। यसबारे अन्य पार्टीको धारणा बाहिर आइरहेको छ। हाम्रो पार्टीको धारणा के हो?' दनुवारले बैठकमा दाहाललाई सोधेका थिए।
अख्तियारले महरासहित २९ जनालाई पत्र बुझाएको छ। प्रहरीउपरीक्षक भरतराज शर्माका नामबाट पठाइएको पत्रमा उल्लेख छ, 'यस आयोगबाट भइरहेको अनुसन्धानसम्बन्धी कार्यको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले पत्र प्राप्त गरेको मितिले सात दिनभित्र आयोगको कोठा नम्बर चार सय १६ मा उपस्थित हुनका लागि निर्णयअनुसार अनुरोध गर्दछु।'
एमालेका पूर्वमन्त्री सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, वंशीधर मिश्र, सांसद इच्छाराज तामाङ र जनार्दन ढकाल तथा पूर्वसांसद विजय पौडेललाई अख्तियारले पत्र पठाएको छ।
खिलराज रेग्मी नेतृत्वको सरकारका मन्त्री उमाकान्त झा, टेकबहादुर थापा घर्ती, शंकर कोइराला, छविराज पन्त र रामकुमार श्रेष्ठ, माले महासचिव सीपी मैनालीकी पत्नी तथा पूर्वमन्त्री निलम केसी, सिँचाइसचिव अनुपकुमार उपाध्याय, कृषिसचिव उत्तमकुमार भट्टराई र स्वास्थ्यसचिव शान्तकुमार श्रेष्ठ, अतिरिक्त प्रहरीमहानिरीक्षक राजेन्द्रसिंह भण्डारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थ, पूर्वआईजीपी रवीन्द्रप्रताप शाह र पूर्वमुख्यसचिव भोजराज घिमिरेलाई अख्तियारले पत्र पठाएको छ।
त्यस्तै कांग्रेस सांसद तथा विद्यालय सञ्चालक उमेश श्रेष्ठ, फोरम लोकतान्त्रिककी सांसद तथा विद्यालय सञ्चालक गीता राणा र बाबुराम पोखरेललाई पनि अख्तियारले पत्र पठाएको छ। पत्र पाउनेमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, पूर्वराष्ट्रपति रामवरण यादवका सल्लाहकार तथा पूर्वमन्त्री विद्याधर मल्लिक पनि छन्।
एमाओवादी बैठकमा भ्रष्टाचारको शल्यक्रिया गर्ने दाहालको शब्द लिएर केन्द्रीय सदस्य श्रीप्रसाद जगेबुले पार्टीभित्रको भ्रष्टाचार नियन्त्रण गर्नका लागि पोस्टबहादुर बोगटी नेतृत्वमा गरिएको लडाकु शिविर छानबिन र अमिक शेरचन नेतृत्वमा गरिएको पार्टीका नेताहरूको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गरे मात्रै भ्रष्टाचारको शल्यक्रियाका लागि सिरिन्जको काम हुने बताए।
केन्द्रीय सदस्य हितबहादुर तामाङले ठूला नेताका लागि चुनाव खर्च पार्टीले उपलब्ध गराएको र कनिष्ठ नेताका लागि उपलब्ध नगराएको गुनासो गरेका थिए। 'पार्टी पुनर्निर्माणका लागि अध्यक्ष कमरेड तपाईं भित्र र बाहिरको घेराबन्दीबाट बाहिर निस्किनुस्। गुट र उपगुटका स्वार्थसमूहबाट पनि बाहिर आउनुस्', तामाङले भने।
केन्द्रीय सदस्य देवराज रेग्मीले 'युद्धका बेलामा गरम, शान्तिकालमा नरम, सरकार र संसद्मा हुँदा बेसरम' हुँदै पार्टी बिग्रिएको बताएका थिए। उनले भने, 'हाम्रा नेताहरू हरिलट्ठक भए। आत्मप्रशंसाका पसल थापेर हिँड्ने हुनु भएन।'
केन्द्रीय सदस्य प्रकाश पोखरेलले ल्यारकाल लामालाई सभासद् बनाउनु हुन्थ्यो कि हुँदैनथ्यो भनेर आफूहरूले पार्टीमा छलफल गर्न माग गरे पनि त्यसको सुनुवाइ नभएको बताए। अर्का नेता विश्वनाथ साहले बाबुराम भट्टराईलाई अध्यक्ष बनाउन सुरु भएको बैठक समापनसम्म आउँदा बाबुराम नै पार्टीमा नरहेको प्रसंग उल्लेख गरेका थिए।
प्रवक्ता दीनानाथ शर्माले हेटौंडा महाधिवेशनमा पदाधिकारी छान्न नसक्नुमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठभन्दा पनि दाहाल नै जिम्मेवार रहेको बताए। उनले भनेका थिए, 'अध्यक्षभित्रकै गुट र स्वार्थ समूहका कारण त्यतिबेला पदाधिकारी छान्न नसकिएको हो। त्यसैले अध्यक्ष कसैले निचोर्दा निचोरिनु भएन।'

0 comments:
Post a Comment