आज सबैभन्दा चिसो दिन, काठमाडौंको तापक्रम २.८ मा झर्यो

काठमाडौं, पुस २ - उपत्यकासहित देशभरको तापक्रम आज बिहीबार घटेको छ । गएको वर्षको तुलनामा बिहीबार यस वर्षकै कम तापक्रम मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार बिहान काठमाडौंको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । यस्तै, जुम्लाको तापक्रम बिहीबार बिहान यो वर्षकै कम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ । गएको वर्ष डिसेम्बर २७ र २८ तारिखमा जुम्लाको तापक्रम त्यो वर्षकै सबैभन्दा कम माइनस ७ डिग्री मापन गरिएको थियो । यस वर्ष पोहोर भन्दा १० दिन अघि नै जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । यस्तै, गएको वर्ष आजकै दिन काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । गएको वर्ष जनवरी ३१ तारिखमा काठमाडौंमा सबैभन्दा कम १ दशमलव ४ डिग्री सेल्सियस थियो । मौसमविद् अर्यालका अनुसार तराइमा अहिले पनि हुस्सु लागेको छ । उहाँका अनुसार तत्काल पानी नपरे चिसो अझै बढ्ने सम्भावना छ । वायु प्रदुषणका कारण पानी पर्ने संभावना निकै कम रहेको उहाँले बताउनुभयो । मौसमविद्का अनुसार पानी परे एक दुइ दिन चिसो बढेपनि तापक्रम बढ्दै जान्छ । पानी नपरे चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । यस्तै, हिमाली क्षेत्रबाट हावा चल्न थालेकाले चिसो अझै बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । काठमाडौं उपत्यकासहित अरु शहरी क्षेत्रमा देखिएको वायू प्रदुषणका कारण लागेको तुवाँलो र हिमाली क्षेत्रबाट चलेको हावाका कारण चिसो अझै बढ्ने सम्भावना रहेको मौसमविद बरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार तुवाँलोले घाम छेकिदिएकाले जमिन तात्न नपाउँदा चिसो बढ्दै गएको हो । दिन छोटो र रात लम्बिदै गएकाले पनि जमिन तात्न नपाउँदा देशभर चिसो बढेको मौसमविद् पौडेलले बताउनुभयो । जमिन तात्न नपाउँमा अहिले न्यूनतम र अधिकतम तापक्रम दुवै घट्दै गएको छ । जाडोमा झन् धेरै स्वास्थ्य समस्या गर्मी महिनामा भन्दा जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने डाक्टरले बताएका छन् । जाडो मौसममा श्वासप्रश्वाससँग सम्बन्धित स्वास्थ्य समस्या बढी देखिने भएकाले चिसोबाट बच्न डाक्टरको सल्लाह छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार जाडोमा छातीमा कडा खालको समस्या देखिन्छ भने मुटु र रक्तनलीहरुमा पनि समस्या देखिन्छ । चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै कणहरु पुग्ने डाक्टर मरासिनीले बताउनुभयो । जाडोमा धुलोका कणहरु प्रशस्त मात्रामा रहने हुँदा हिँडडूल गर्दा विशेष सतकर्ता अपनाउनुपर्छ । जाडोको मौसममा सकेसम्म विहान सबेरै मर्निङवाक् गर्न हुँदैन भने गर्ने परे नाक र मुख राम्रोसँग छोप्ने मास्क लगाउनु पर्छ र छातीमा चिसो नपस्ने खालका कपडा लगाउनुपर्छ । यस्तै चिसोमा रक्तनलीमा रगत जम्ने समस्या पनि हुने भएकाले बेला बेलामा स्वास्थ्य जाँच गरिरहनुपर्छ । डाक्टरका अनुसार चिसोको बेला मन तातो झोलिलो खानेकुरमा प्रशस्त मात्रामा खाए कडा खालका रोग लाग्नबाट पनि बच्न सकिन्छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment